इथिओपियाको राजधानी अदिस अबाबामा हँसुवा स्कुल खुलेको छ । गर्भवती महिलाहरुलाई लक्षित खुलेको उक्त स्कुल महादेशकै पहिलो हँसुवा -लफर स्कुल) हो ।

लफर फर अल नाम दिइएको उक्त स्कुल गर्भवती महिलाका लागि आजकल निकै लाभदायक बनेको छ । स्कूलका निर्देशक बेलाचीव ग्रेमाका अनुसार उक्त स्कुलमा गर्भवती महिलालाई खुबै हँसाइन्छ ।

उनी भन्छन्, ‘ जब हामी कोही गर्भवती महिलाको पेटमा सुम्सुमाउँछौँ त्यसपछि ती गर्भवती महिलालाई काउकुती लागेर हाँसो उठ्छ । यसपछि हुने अट्टहासले पेटमा रहेको बच्चालाई समेत खुसी बनाउँछ । हामीले गर्भवती महिलालाई जोडदार रुपमा हँसाउँछौँ ।’

आफ्नो स्कुलमा ठूलो संख्यामा गर्भवती महिलाहरु आउने गरेको उनको दाबी छ । आफ्नो जिवन दुखैदुखले भरिएको र आफु हाँस्न नपाएको हुनाले अरुको जिवनमा भएपनि खुसी देख्ने चाहनाले आफुले यस्तो स्कुल खोलेको उनी बताउँछन् ।

१० वर्ष पहिले उनको जिवनमा निकै ठूलो पहिरो गएको रहेछ । उनको घर आगो लागेर ध्वस्त भएछ भने श्रीमतीको एड्सका कारण ज्यान गएछ ।

उनी आफै पनि एड्स रोगी भएकाले आफु हाँस्न सक्ने अवस्थामा नभएको महसुस हुँदा अरु मान्छेको ओँठमा हाँसो भर्ने अठोट गर्दै उनले गर्भवती महिलालाई हँसाउने स्कुल खोलेका रहेछन् ।